अनिश शर्मा गैरे
गुल्मी, फागुन २७, २०७५-
गुल्मीको मुसिकोट नगरपालिकाले आउने बर्षदेखी नगर प्रहरी राख्ने भएको छ। आउने बैशाख १ गते देखि कार्यान्वयन हुने गरी १० जना नगरप्रहरी राख्ने निर्णय भएको हो। सोमबार बसेको नगरसभाले मुसिकोट नगरपालिकामा नगरप्रहरी ऐन, २०७५ पास गर्दै नगरप्रहरी राख्ने बाटो खुलेको हो।
नगरपालिकाले गरिरहेका विकास निर्माण, सामाजिक कार्य, नगरक्षेत्रको व्यवस्थापन, सडक व्यवस्थापन, अनुगमन लगायतका कार्यहरु गर्ने जिम्मा नगरप्रहरीको रहने नगरप्रमुख सोमनाथ सापकोटाले बताए। राजनैतिक रुपमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा संघीय सरकार अन्तर्गतका प्रहरी रहने तर विशुद्ध नगरक्षेत्रका कामहरु गर्नको जिम्मा दिने उद्धेश्य सहित नगरप्रहरी कार्यक्रम ल्याएको हो।
नगरपालिकाले नै तलब खुवाउने गरी प्रहरीहरु भर्ना गरीने सापकोटाले बताए । त्यसैगरी सोमबार नै बसेको नगरसभाले नगरपालिकाले लगाएका कर तथा राजस्वलाई व्यवस्थित गर्नेगरी नगरपालिकाको गैरकर तथा राजस्व सम्बन्धी ऐन २०७५ पनि पास गरेको छ । सो ऐनले करहरुको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ।
सोमबार बसेको नगरसभामा आर्थिक बर्ष २०७५/०७६ को दोस्रो चौमासिक सम्मको प्रगती प्रतिवेदन पेश गरीएको थियो । त्यसैगरी चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रमको संशोधन छलफल तथा स्विकृति पनि नगरसभाले गरेको छ ।
त्यसैगरी नगरपालिकाको न्यायिक कार्य सम्पादनको लागि मेलमिलापकर्ताको सुची अनुमोदन तथा स्विकृति गरीएको छ भने नगरपालिकाको कार्यापालिकाले गरेका निर्णयहरु छलफल र स्विकृत पनि गरिएको छ। नगरसभाले आउने महिना सामाजिक परीक्षण गर्ने पनि निर्णय गरेको छ।
तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।