बिरामी आउने क्रम ह्वात्तै बढ्यो
अनिश शर्मा गैरे
गुल्मी, पुष २०, २०७५-
गुल्मीको मुसिकोट नगरपालिका-७, स्थित वामीटक्सार स्वास्थ्य चौकीमा एम.बि.बि.एस. डाक्टरद्वारा स्वास्थ्य परीक्षण सेवा सुरु भएसँगै बिरामीको चाँप बढ्न थालेको छ।
यस अघि दैनिक १५/२० जना बिरामीहरु आउने गरेकोमा अहिले बिरामी संख्या ३० भन्दा बढी हुन थालिसकेको छ। दुर्इ दिनको अवधिमै बिरामी संख्या ह्वात्तै बढेको स्वास्थ्य संस्थाका इन्चार्ज तारा बहादुर वस्नेतले जानकारी दिए।
पहिलो पटक वामीटक्सार स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर सहितको सेवा सुरु भएको हो। मुसिकोट नगपालिकाको आफ्नै बजेटद्वारा एम.बि.बि.स. डाक्टर अभय पोख्रेल मार्फत स्वास्थ्य सेवा सुविधा सुचारु गरिएको छ।
सामान्य जाँच गर्न पनि बाहिर जानुपर्ने बाध्यता
गुल्मीका अधिकांश क्षेत्रमा एमबिबिएस डाक्टरहरुको सेवा छैन्। स्थानीय जनता सामान्य समस्या भएको खण्डमा पनि सदरमुकाम तम्घासका साथै पाल्पा, बुटवल, पोखरा, चितवन, काठमाण्डौं सम्म पुग्ने गरेका थिए। तर अब भने वामीमै एमबिबिएस डाक्टरको सेवाले धेरैलाई राहत दिने भएको छ।
‘सामान्य समस्याले पनि पाल्पा, बुटवल जान पर्थ्यो।’, वामीका खगराज गैरेले भने ‘अब स्वास्थ्य चौकीमै राम्रो स्वास्थ्य सेवा आएपछि सजिलो हुने भयो।’ उनले नगरपालिकाको यस किसिमको पहलको लागि धन्यवाद पनि दिए। हुन पनि धेरैले अब विशेषज्ञ डाक्टरको सेवा पाउने भएपछि खुशी बनेका छन्।
ल्याब परीक्षणको पनि व्यवस्था
गत आर्थिक बर्षमा नगरपालिकाका स्वास्थ्य संयोजक ढालबहादुर जिसीको नेतृत्वमा काठमाण्डौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा लबिङ्ग गर्याे। फलस्वरुप स्वास्थ्य चौकीको लागि ३ लाख मुल्य बराबरका निशुल्क ल्याब परीक्षणका सामग्रीहरु उपलब्ध भए। अब यस क्षेत्रका जनतालाई सामान्य परीक्षण गर्न पनि बाहिर जानुपर्ने छैन।
अब यस क्षेत्रका जनतालाई दिसा, पिसाब, खकार, रगत परीक्षण गर्न वामीटक्सार स्वास्थ्य चौकीमा पुगेहुन्छ। यस स्वास्थ्य चौकीमा मुसिकोट नगरपालिका सहित छिमेकी जिल्ला बाग्लुङको बडिगाड गाउँपालिका र गुल्मीकै मालिका गाउँपालिकाका ह्वाङ्दी, नेटा, दर्लिङ लगायतका क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित हुने छन्।
नगरपालिकाको सहयोग
मुसिकोट नगरपालिकाले आफ्नै बजेटबाट डाक्टर अभय पोख्रेल सहित ३ जनालाई पारिश्रमिक दिनेछ। २४ घण्टाको समय दिए बापत ८० हजार रुपैया तलब डाक्टरले पाउने छन् भने खाना बस्नको व्यवस्था पनि त्यसैभित्र पर्ने छ। अब स्वास्थ्य ओपीडि, इमरजेन्सी लगायतका स्वास्थ्य सेवाहरु विशेषज्ञ डाक्टरले प्रदान गर्ने छन्।
‘चर्काे शुल्क लिदैनौँ’, नगरपालिकाका स्वास्थ्य संयोजक डिबि जिसीले भने ‘हाम्रो लक्ष्य सेवा दिने हो, त्यसको साथसाथै अत्यन्तै न्युन शुल्क मात्र लिने भनेका छौँ।’ उनले यस सेवा सुरु भएको सन्देश अब सबै ठाँउमा पुर्याउनु जरुरी रहेको बताए।
स्वास्थ्य सेवा पुर्याउन तल्लिन नगरपालिका
मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले नगरपालिकाका हरेक वडाहरुमा स्वास्थ्य सेवा पुर्याउनुका साथै केन्द्रमा विशेषज्ञ सहितको सेवा दिने लक्ष्य झण्डै पुरा हुन थालेको जानकारी दिए। उनले स्वास्थ्य चौकी नभएका ठाँउमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिइएको जानकारी दिए।
मुनपा-१, थामडाडा, मुनपा-५, इन्द्रगौडा, वडा नम्बर ८, वामी मैदानमा शहरी स्वास्थ्य केन्द्रहरु स्थापना भइसकेका छन् भने मुनपा-४, पेँगामा केही समयमा स्थापना गर्न लागिएको छ।
वामीमा रहेको कृष्णहरी सापकोटा आँखा अस्पताललाई स्थायी दरबन्दीको व्यवस्था, सुत्केरी सेवाको लागि ४ बर्थिङ्ग सेन्टर स्थापना सँगै सेन्टरलाई अत्याधुनिक डेलिभरी केयरको सुविधा प्रदान, बर्थिङ्ग सेन्टरमा सोलारको व्यवस्था, सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ।
गएको बर्ष २० लाख को औषधी खरिद गरिएको र नगरक्षेत्रका कुनै पनि स्वास्थ्य संस्थामा औषधी अभावको स्थिती नरहेको, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई यातायात खर्च भनी बर्षको ६ हजार रुपैया थप भत्ता दिइएको र ६० बर्षभन्दा माथिका वृद्धवृद्धालाई घरमै पुगी स्वास्थ्य चेकपको सुविधा पनि प्रदान भइरहेको नगरप्रमुख सापकोटाले जानकारी दिए।
वामीटक्सार स्वास्थ्य चौकीलाई डाक्टर सहित पुुर्वाधार निर्माणको काम गर्न ५० लाख रुपैँया बजेटको व्यवस्था गरिएको छ। यसैबिच स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालको रुपमा रुपान्तरण गर्न पनि पहल भइरहेको बताइएको छ।
तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।