Author
अनिश शर्मा गैरे

गुल्मी, फागुन २२, २०७५-

महेन्द्र आदर्श माध्यमिक विद्यालय, वामीको हीरक महोत्सवको अवसरमा ५ करोड २५ लाख रुपैँया आर्थिक संकलन भएको छ। त्यसैगरी १५ रोपनी भुमिदान पनि भएको छ।
मुसिकोट नगरपालिका-८, निवासी रुक्मागत सापकोटाले १२ रोपनी तथा मुनपा-७ निवासी शिवलाल सापकोटाले ३ रोपनी जग्गा प्रदान गरेका छन्। सो जग्गा भने मुल्य गर्न बाँकी छ। त्यसैगरी महोत्सवमा प्रशस्त धान पनि दान भएको मुल समारोह समितिका अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए।
महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न भएको र यस महोत्सव मुसिकोट नगरपालिकाकै महोत्सवको रुपमा सम्पन्न भएको उनले बताए। यस महोत्सबको माध्यमबाट वामीलाई भावनात्मक तथा कार्यगत रुपमा एकताबद्ध गराउन पनि सफल भएको अध्यक्ष काफ्लेले बताए।
यस महोत्सव तथा श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञले स्थानीयलाइ सामाजिक रुपमा जोड्न पनि सफल भएको आयोजकले विश्वास गरेको छ।
‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारा सहित आयोजना गरिएको महोत्सवमा ५ करोड रुपैँया अर्थ संकलनको लक्ष्य राखिएको भएपनि सो भन्दा बढी नै अर्थ संकलन भएको छ। महोत्सवमा भागवत भाष्कर पण्डित कमलनयन गौतमले प्रवचन दिएका थिए भने नेपालकै चर्चित भजनमण्डलीद्वारा भजन कृतन तथा झाँकी प्रदर्शन गरीएको थियो‌।
यसैबिच महोत्सवको समापनसँगै प्रमुख वाचक पण्डित कमलनयन गौतमले वामीका एक बालकलाई अध्ययन गराउने उद्देश्य सहित आफुसँगै लगेका छन्‌।
वामी निवासी रत्नलाल सापकोटाको छोरालार्इ उनले आफुसँगै अध्ययन गराउनको निम्ती लगेका हुन्। उनी हाल गल्कोट हटियामा अध्ययन गरिरहेका थिए। महोत्सवमा खर्च भने ३५ लाख रुपैया अनुमान गरिएको बताइएको छ। एक महिनामा सबै खर्च हिसाब सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।
मन्त्री गोकर्ण विष्टले १३ गते उद्घाटन गरेको कार्यक्रमको समापन हिजो मङ्गलबार पुर्व सासंद चन्द्र भण्डारीले गरेका थिए।


तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।