Author
अनिश शर्मा गैरे

गुल्मी, पुष २६, २०७५-

मुसिकोट नगरपालिकालाई स्वच्छ र सरसफाइ युक्त बनाउनको निम्ती पहल सुरु भएको छ। हिजो वामीमा वडाध्यक्ष प्रकाश काफ्ले सहित जनप्रतिनिधि, बुद्धिजिवी, समाजसेवीहरुको भेलाले वडास्तरीय सरसफाइ तथा स्वच्छ वातावरण प्रवर्द्धन उपभोक्ता समिति गठन गरी नगरक्षेत्रलाई स्वच्छ र सफा बनाउने अभियान सुरु भएको हो।
गोपीकृष्ण खरेलको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ। जसको उपाध्यक्षमा श्रीकृष्ण सापकोटा, सचिवमा फुल प्रसाद सापकोटा र कोषाध्यक्षमा सर्मिष्ठा शाक्य रहेका छन्। त्यसैगरी अन्य सदस्यहरुमा चन्द्र बहादुर कामी, लिलाकान्त सापकोटा, सर्मिला राना, राजन सापकोटा, गोपाल सापकोटा, पुतली सापकोटा, टोपनारायण शाक्य, मैना कक्षपति, मायादेवी खराल, तोयनाथ खराल र सुन्दर प्रधान रहेका छन्।

समितिलाई नगरपालिकाले सरसफाइ सम्बन्धी अधिकार र जिम्मेवारी प्रदान गरेको छ। सो समितिले नगरपालिकाले भने अनुसारको फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने छ।
कुहिने र नकुहिने फोहोरलाई छुट्टाछ्ट्टै स्थानमा व्यवस्थापन गर्ने गरी अबको एक महिना भित्रमा फोहोर प्रशोधन केन्द्र स्थापना हुने भएको छ। सो केन्द्र स्थापनाको लागि मुसिकोट नगरपालिकाले १२ लाख रुपैँया विनियोजन गरेको छ। ट्रसको प्रयोग गरी फरक-फरक टहराहरुमा गल्ने, जलाउने र नसड्ने फोहोरलाई राखी गल्नेलाइ मल बनाउने, जल्ने फोहोरलाई जलाउने तथा पुनः प्रयोग गराउने सँगै नसड्ने फोहोरलाई व्यवस्थित गरिने भएको छ। फोहोर प्रशोधन केन्द्र स्थापनाको लागि हाल विद्यमान बसपार्क भन्दा केही तलपट्टि जग्गा भाडामा पनि लिइएको छ। कुहिने फोहोरलाई प्राङ्गारिक मल बनाइ बिक्री पनि गरीने भएको छ।
त्यसैगरी नगरपालिकाले २ वटा ट्रयाक्टर खरिद गर्ने भएको छ। एउटा बजारको फोहोर संकलनको लागि प्रयोग गरिने र अर्काे ट्रयाक्टर मुसिकोट नगरपालिका, वडा नम्बर १, २ , ३ र ४ को लागि प्रयोग हुने उपभोक्ता समितिका अध्यक्ष गोपीकृष्ण खरेलले जानकारी दिए।

सो ट्रयाक्टरले मुसिकोट नगरपालिका-७, हाँडीखोला देखी तल्लाफाँट सम्मको सडकमा पानी छ्याप्ने काम गरी सडकको धुलो नियन्त्रण गर्ने भएको छ। केही हप्ता अघि सुरु भएको पानी छ्याप्ने कार्यक्रम नगरपालिकाको आफ्नै ट्रयाक्टर नभएको र अन्य केही समस्याको कारण केही दिनमै रोकिएको थियो भने अब केही दिनमै यही समिति मार्फत सुरु हुने भएको छ। यस समितिले वातावरण स्वच्छ, सफा राख्न, खानेपानी, फोहोरमैला व्यवस्थापन गर्ने लगायतका काम गर्ने र फोहोर संकलन गरे बापत प्रति घरबाट ५० रुपैँया र प्रति व्यावसायिक पसल होटलबाट १०० रुपैँया शुल्क लिने निर्णय पनि भएको खरेलले बताए।
सुरुमा बजार क्षेत्रमा फोहोर फाल्ने व्यक्ति तथा परिवारलाई सुझाव दिइने तथा अटेर गरेको खण्डमा कारवाहीको प्रक्रियामा अघि बढ्दै अस्तव्यस्त रुपमा फालिने फोहोरलाई पुर्णतः रोक लगाइने समितिका सचिव फुल प्रसाद सापकोटाले बताए।
यस अभियानमा साथ दिनको निम्ति सबै व्यक्ति तथा परिवारलाई आग्रह गर्दै आफ्नो, परिवार र समाजको स्वास्थ्य स्थिती सुधारमा सहयोग गर्न पनि सापकोटाले आग्रह गरे।



तपाईं हामी संग फेसबुक मार्फत जोडिन पनि सक्नुहुन्छ।