अनिश शर्मा गैरे
मुसिकोट, पुष २०, २०७५-
शसस्त्र प्रहरी बल गुल्मीले मुसिकोट नगरपालिका-७, वामीमा हिजो विपद व्यवस्थापन सम्बन्धी एक दिने गोष्ठी सम्पन्न गरेको छ।
विपद भनेको के हो, विपद आउँदा कसले के भुमिका निर्वाह गर्ने, विपदको समयमा आफुले कसरी भुमिका निर्वाह गर्न सकिन्छ र विपदको समयमा अपनाउन सकिने संयमताको विषयमा शसस्त्र प्रहरी बल, गुल्मीका डिएसपी दिनिश बहादुर रायमाझीले जानकारी गराएका थिए।
गोष्ठीको अवसरमा उनले गत २०७२ साल बैशाख १२ मा गएको भुकम्पको समयमा शसस्त्र प्रहरीले निभाएको भुमिका, आगो भनेको के हो, कसरी आगोलागी हुन सक्छ, आगोलागीका प्रकारहरु, आगोलागी नियन्त्रण गर्ने उपायहरु, नियन्त्रणको क्रममा के कस्ता सामग्री प्रयोग गर्ने लगायतका विविध बिषयमा उनले जानकारी गराएका थिए । बिपदको समयमा सुरक्षाकर्मीको मात्र भर नपरी सबैले आफ्नो आफ्नो तवरबाट सहयोग गरेको खण्डमा सजिलै नियन्त्रण गर्न सकिने समेत उनको भनाइ थियो।
सहभागीहरुलाई विभिन्न अडियो तथा भिडियो क्लिप्सको सहयोग बाट प्रष्ट पारिएको थियो भने सहभागीहरुले पनि आफ्नो आफ्नो जिज्ञासा प्रस्तुत गरेका थिए।
गोेष्ठीको अवधिमा निद्रा तथा अल्छी महसुस गर्ने सहभागीहरुलाई चकलेट दिने फरक शैली अपनाएर सबैको ध्यान आकर्षण गरी कार्यक्रम सम्पन्न गरिएको थियो। सैद्धान्तिक क्रियाकलापको समापन पनि विभिन्न नमुनाहरु प्रदर्शन पनि गरिएको थियो।
रुद्रावती बहुमुखी क्याम्पस, वामीमा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख सोमनाथ सापकोटा सहित जनप्रतिनिधिहरु, कर्मचारी, शिक्षाप्रेमी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो।