अनिश शर्मा गैरे
गुल्मी, पुष १३, २०७५-
मुसिकोट नगरपालिकाले बडिगाड नदीमा बिहिबार र शुक्रबार र्याफ्टिङ्ग परीक्षण गरेको छ। त्रिशुली नदीमा जलयात्रा गराइरहेको ७ सदस्यीय विज्ञ टोलीको उपस्थितीमा बडिगाड नदीमा जलयात्रा गरिएको हो।
बिहिबार बडिगाड गाँउपालिकाको भिमगिठे देखि भुवाचिदी सम्मको जलयात्रा गरिएको थियो भने शुक्रवार भुवाचिदीबाट चन्द्रकोट सम्मको नदीको खण्डमा र्याफ्टिङ्ग द्वारा जलयात्रा गरियो।
बडिगाड नदीमा जलयात्राको प्रशस्त सम्भावना देखिएको जलयात्राको टोलीले निष्कर्ष निकालेको छ। नदीमा रहेका ठुला ढुङ्गाहरु मिलाउने र पानीको बहावलाई केही व्यवस्थित गर्न सकेको खण्डमा जलयात्राको माध्यमबाट प्रशस्त पर्यटक भित्र्याउन सकिने नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए। आगामी बर्ष केही रकम लगानी गरेर बडीगाड नदिमा राफ्टीङ्ग सञ्चालन गर्ने विषयमा तयारी गरिने उनको भनाइ छ।
जलयात्रा गरिसकेपछिको आफ्नो अनुभव सुनाउदै नगरप्रमुख सापकोटाले पहिलो पटक जलयात्राको अनुभव लिएको र यात्रा रमाइलो भएको बताए।
जलयात्रामा नगरप्रमुख सापकोटा सहित बडिगाड गाँउपालिकाका अध्यक्ष मेहरसिँह पाइजा, मुसिकोट नगरपालिकाका प्रशासकीय अधिकृत नवराज भण्डारी, मुसिकोट न.पा.- ७ का अध्यक्ष प्रकाश काफ्ले, मुनपा ८ का अध्यक्ष नारायण सापकोटा, बडिगाड-६ का अध्यक्ष मौसम काजी क्षेत्री, पत्रकार लगायतको सहभागिता रहेको थियो।
नगरपालिकाले चालु आथिक बर्षको नीति तथा कार्यक्रममा बडिगाड नदीमा राफ्टीङ्ग चलाउने भनी बजेट समेत विनियोजन गरेको थियो ।
बडिगाड नदी राफ्टीङ्गको माध्यमबाट पर्यटन प्रर्वद्धन गरी प्रशस्त आम्दानी गर्न सकिने नदी हो ।
यस सम्पदाको सही सदुपयोग गरी स्थानीय सरकारको आम्दानी वृद्धि गर्ने तर्फ नेतृत्वको ध्यान गएको हो।